नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८३।०३।३२ को निर्णय नेपाल सरकारबाट स्वीकृत एकाइको कार्यविवरण बमोजिमका कार्य गर्नका लागि शिक्षा विकास तथा समन्वय एकाइको स्थापना भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयबाट सम्पादन गर्नुपर्ने जिम्मेवारी भित्र परेका शैक्षिक कार्यहरू सम्पादन गर्नका लागि साविक जिल्ला शिक्षा कार्यालयको सट्टा शिक्षा विकास तथा समन्वय एकाइ गठन भएको छ । शिक्षा विकास तथा समन्वय एकाइको कार्यविवरण अन्तर्गत शिक्षा सम्बन्धी सङ्घीय कानून, नीति निर्देशन कार्यक्रमको प्रवाहीकरण, अनुगमन, प्रतिवेदन, राष्ट्रिय पाठ्यक्रम प्रारुप र पाठ्यपुस्तकको प्रबोधीकरण, कार्यान्वयनको अनुगमन र प्रतिवेदन, विद्यालय स्तरीय तथ्याङ्क संकलन विश्लेषण, अभिलेख व्यवस्थापन लगायत रहेका छन । विद्यालय सुधार योजना, गाउँ शिक्षा योजना, नगर शिक्षा योजना निर्माणका लागि सहजीकरण गर्ने आवश्यक समन्वय गर्ने, शिक्षक नियुक्ति, बढुवा, पदस्थापन लगायतका शिक्षक सेवा आयोगबाट तोकिएका कार्यहरू गर्ने, राष्ट्रिय परीक्षा बोर्डबाट तोकिए बमोजिमका निर्देशित वा प्रत्यायोजित कार्यहरू गर्ने जस्ता कार्यहरू यसको कार्यविवरणमा पर्दछन ।